गल्छी । पृथ्वी राजमार्गको मुग्लिन-काठमाडौँ सडकखण्डअन्तर्गत धादिङको गल्छीमा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गल्छी गाउँपालिका-७ स्थित मच्छेडी खोला नजिकै चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एचआर ३८ एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ र उनको अवस्था खतरामुक्त रहेको छ ।
प्रज्वलनशील एलपीजी ग्यास चुहावट भई आगलागी हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सो क्षेत्रमा सवारी आवागमन रोकेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गल्छीको टोलीले क्रेनको सहायताले बुलेट पन्छाउने तयारी गरिरहेको छ । राजमार्ग ठप्प हुँदा हजारौँ यात्रु र सवारी साधन बिचबाटोमै अलपत्र परेका छन् । ग्यास पूर्ण रूपमा सुरक्षित रहेको निश्चित भएपछि मात्र यातायात सुचारु गरिने प्रहरीले जनाएको छ ।

