काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक ओमानको सामना गर्दैछ ।
अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा हुने यो भिडन्त नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । शृङ्खलाको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै नेपालले विजयी सुरुआत गरिसकेको छ । अर्कातिर ओमानले पनि आफ्नो पहिलो खेलमा क्यानडालाई हराएको थियो ।
लिग–२ को शीर्ष चारभित्र पर्दै सिधै विश्वकप छनोट (ग्लोबल क्वालिफायर) पुग्ने सम्भावना समाप्त भइसकेकाले नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउनु मुख्य लक्ष्य बनेको छ । ओडिआई मान्यता जोगाउन नेपालले अंकतालिकाको शीर्ष छ भित्र स्थान सुरक्षित गर्नुपर्ने हुन्छ । लिग–२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको ओडिआई मान्यता स्वतः जोगिनेछ भने सातौँ र आठौँ स्थानमा सीमित हुने टोलीको मान्यता जोखिममा पर्नेछ ।
नेपाल हालसम्म खेलिएका ३३ खेलबाट २६ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा यथावत छ ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ । नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् ।
नेपालले शृङ्खलाअन्तर्गत अक्टोबर १७ मा पुनः क्यानडा र अक्टोबर १९ मा ओमानसँग अन्तिम खेल खेल्ने तालिका रहेको छ ।

