काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आयोजना हुने कार्यक्रमहरूमा कुनै पनि किसिमको उपहार आदानप्रदान नगर्न कडा निर्देशन दिएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज एक शुभकामना सन्देश जारी गर्दै रास्वपाले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा भौतिक उपहार लिनेदिने परिपाटीलाई निरुत्साहित गर्दै आएको स्पष्ट पार्नुभयो । उहाँले राजनीतिमा सर्वसाधारण नागरिकको सद्भाव, आशीर्वाद र अगाध विश्वास नै सबैभन्दा ठूलो उपहार हुने उल्लेख गर्नुभयो । चाडपर्वको वास्तविक मर्म निःस्वार्थ प्रेम, सद्भाव र आपसी आत्मीयता साटासाट गर्नु रहेको उहाँको भनाइ छ ।
सुसंस्कृत एवं पारदर्शी राजनीतिक संस्कार निर्माण गर्ने अभियानमा सबै पक्षको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दै महामन्त्री आचार्यले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

