काठमाडौँ । यस वर्ष बडादसैँको महाअष्टमी तिथि दुई दिन परेकाले श्रद्धालु भक्तजनहरूले आइतबार र सोमबार दुवै दिन अष्टमीको पूजा तथा व्रत गरिरहेका छन् ।
पञ्चाङ्ग गणना र तिथिको घटबढका कारण कात्तिक १ गते आइतबार महाअष्टमी मनाइएको थियो भने कात्तिक २ गते सोमबार पनि सोही पूजा-आराधनाजस्ता धार्मिक विधिलाई निरन्तरता दिइएको हो ।
स्थानीय परम्परा र आफ्नै क्षेत्रको पञ्चाङ्ग पालना गर्दै भक्तजनहरूले शक्ति स्वरूपा दुर्गा भवानीको भक्तिभावपूर्वक पूजा अर्चना गरिरहेका छन् ।
यस अवसरमा देशभरका दसैँघर, कोत तथा प्रसिद्ध शक्तिपीठहरूमा विशेष पूजापाठ, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्रको वाचन भइरहेको छ । कतिपय क्षेत्रमा परम्पराअनुसार बलि दिने कार्यसमेत सम्पन्न गरिँदैछ ।

