काठमाडौँ । बडादसैँको नवौँ दिन आज देशभर नवदुर्गा भगवतीको नवौँ रूप सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरी महानवमी पर्व मनाइँदैछ ।
घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठहरूमा चढाउनुका साथै दसैँघर तथा देवी मन्दिरहरूमा दुर्गा सप्तशती र देवी स्तोत्रको पाठ गरिन्छ । महानवमीका अवसरमा पशुबलि दिनेहरूले बोका, राँगा, हाँस र कुखुराको बलि चढाउने गर्छन् भने बलि नदिनेहरूले कुभिण्डो, काँक्रो, मुला र जटा नरिवल चढाएर पूजा गर्ने परम्परा छ । मार्कण्डेय पुराण अनुसार यसै तिथिमा चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस दिनको विशेष धार्मिक महत्त्व रहँदै आएको छ ।
महानवमीका दिन नेपाली सेनाका ब्यारेक, गुल्म तथा हनुमानढोकास्थित कोतहरूमा हर्षबढाइँका साथ जङ्गी निशाना र कोतपूजा गरिन्छ ।
यस्तै, वर्षमा केवल एक दिन मात्र सर्वसाधारणका लागि खुल्ने हनुमानढोका दरबार क्षेत्रको प्रसिद्ध तलेजु भवानीको मन्दिर आजका दिन खोलिने भएकाले दर्शनार्थीहरूको ठूलो घुइँचो लाग्ने गर्छ । फूलपातीका दिन मूलचोकमा ल्याइएकी तलेजु भवानीलाई तान्त्रिक विधिबाट ५४ बोका र ५४ राँगाको कालरात्रि बलि दिएपछि विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काउने परम्परा रहेको छ ।

