काठमाडौँ । देशमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिविरुद्ध सबै नागरिक एकजुट हुनुपर्नेमा प्रधानमन्त्री बालेन्द्र शाहले जोड दिएका छन् ।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइने दशैँले मानिसभित्र रहेका नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने उल्लेख गरे । अहंकार, लोभ, ईर्ष्या र विभेद जस्ता सोच त्यागेर मात्र समाजलाई सही दिशामा लैजान सकिने उनको भनाइ छ ।
आसुरी प्रवृत्तिका रूपमा रहेका सामाजिक तथा राजनीतिक कुरीतिहरू अन्त्य गर्दै नागरिकलाई राज्यको उपस्थिति अनुभूत गराउनुपर्ने दायित्व रहेको उनले बताए । प्रधानमन्त्री शाहले भने, “वास्तविक परिवर्तनका लागि सोच मात्र नभई व्यवहारमा समेत सुधार आवश्यक छ । इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै विद्यमान विकृतिहरू हटाउन सकिन्छ ।”
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले भरिएको नेपाली समाजलाई जोड्ने काम गर्ने सन्देशमा उल्लेख छ । यो पर्वले टाढिएका आफन्त र साथीभाइसँग आत्मीयता साट्ने तथा समाजमा सद्भाव र एकता कायम गर्ने अवसर दिलाउने विश्वास उनले व्यक्त गरे । साथै, आफ्नै क्षमता अनुसार भड्किलो नबनाई पर्व मनाउन र आपसमा माया तथा सम्मान बाँड्न प्रधानमन्त्री शाहले सबैमा आग्रह गरेका छन् ।

