बिर्तामोड (झापा) । झापाको बिर्तामोडमा बिहीबार बिहान एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने लाखौँ मूल्यको भौतिक क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिर्तामोड नगरपालिका-२ रामचौकस्थित रवि राजवंशीले सञ्चालन गर्दै आएको ठुला सवारीसाधन मर्मत गर्ने बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भएर आगो लागेको हो । ध्रुव भट्टराईको जग्गामा रहेको उक्त टिनको छानो भएको भवनमा बिहान करिब ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी क्यान्टिनमा काम गर्दै आएका गौरीगन्ज गाउँपालिका-२, झापाका ६५ वर्षीय रुद्रबहादुर तामाङको ज्यान गएको छ । उनको शव जलेको अवस्थामा फेला परेको हो ।
उक्त दुर्घटनाबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, १ लाख रुपैयाँ नगद र ३ वटा खसीबाख्रा पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यस्तै ग्यारेजसँगै टाँसिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल-टाइल्सको गोदाममा समेत आगोले क्षति पुर्याएको छ ।
स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा बिहान करिब ४:३० बजे आगो नियन्त्रणमा लिइएको थियो । दमकलबाट आगो निभाउने क्रममा गोदामभित्र राखिएका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर थप २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

