काठमाडौँ । फ्रान्समा महँगी, बढ्दो जीवनयापन खर्च र विद्यालयको कमजोर व्यवस्थापनविरुद्ध भएको व्यापक प्रदर्शनले उग्र रूप लिएको छ ।
देशका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपका क्रममा करिब १ हजार जनालाई नियन्त्रणमा लिइएको छ । गृह मन्त्रालयले प्रदर्शनमा ४ लाखभन्दा बढीको सहभागिता रहेको बताए पनि श्रमिक सङ्गठनहरूले भने सङ्ख्या ८ लाखको हाराहारीमा पुगेको दाबी गरेका छन् ।
दिउँसोभर अधिकांश स्थानमा शान्तिपूर्ण रहेको आन्दोलनले बेलुका परेपछि राजधानी पेरिससहित मार्सेई र बोर्डो लगायतका शहरहरूमा हिंसात्मक मोड लिएको हो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन् । मार्सेईमा सडक अवरुद्ध गरी आगजनी गरिनुका साथै बोर्डोमा केही भवन तथा पसलका संरचनामा क्षति पुर्याइएको छ । झडपमा परी दुई जना गम्भीर घाइते भएको गृहमन्त्री लरेन्ट नुनेजले जानकारी दिएका छन् ।
आन्दोलनको सुरक्षाका लागि सरकारले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । प्रदर्शनकारीहरूले उच्च महँगी, करको चर्को भार, गरिबी र सरकारी नीतिप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ । यसअघि गत हप्ता भएको प्रदर्शनका क्रममा हिंसा र तोडफोडका घटनामा संलग्न २ हजार ५ सयभन्दा बढी मानिस पक्राउ परेका थिए ।

