मुस्ताङ । मुस्ताङमा हुन सक्ने भारी वर्षा, हिमपात तथा हिमपहिरोको सम्भावित खतरालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा सावधानी अपनाउन सार्वजनिक रूपमा अपिल गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले हालै जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार मान्दै प्रशासनले आगामी कात्तिक १३ र १४ गतेका लागि यो चेतावनी जारी गरेको हो ।
मौसम विभागका अनुसार सो अवधिमा गण्डकी प्रदेशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङ र तीव्र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने प्रबल सम्भावना रहेको छ । यसैगरी, उच्च पहाडी तथा हिमाली भूभागहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरो जाने जोखिमसमेत रहेकाले सम्बन्धित सबैलाई गम्भीर बन्न भनिएको छ ।
प्रतिकूल मौसमका कारण अत्यधिक चिसो बढ्ने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा जोखिमयुक्त क्षेत्रमा पहिरो जान सक्ने चेतावनी दिइएको छ । सम्भावित विपद्बाट मानवीय क्षति हुन नदिन पर्यटकहरूलाई अनावश्यक रूपमा उच्च हिमाली क्षेत्रतर्फ नजान र सुरक्षित आश्रयस्थलमा रहन निर्देश गरिएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई मौसमको ताजा अवस्था बुझेर मात्र यात्रा गर्न तथा पूर्वतयारी अपनाउन जोड दिएको छ ।

