रुपन्देही । शारीरिक एवं मानसिक स्वास्थ्यप्रति नागरिकलाई सचेत गराउने उद्देश्यका साथ सञ्चालित निःशुल्क योग तथा ध्यान साधना अभियान रुपन्देहीमा तीव्रताका साथ विस्तार भइरहेको छ ।
हालसम्म जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा दुई हजारभन्दा बढी स्थानीयवासीहरू प्रत्यक्ष रूपमा सहभागी भइसकेका छन् ।
गङ्गा कार्कीले करिब दुई वर्ष पहिले सुरुवात गरेको यो अभियान अहिले बुटवल, भैरहवा, रोहिणीपुर, सालझण्डी, देवदह र लुम्बिनी लगायतका दर्जनभन्दा बढी ठाउँहरूमा पुगिसकेको छ । आधुनिक जीवनशैलीका कारण उत्पन्न हुने असन्तुलन, तनाव र शारीरिक निष्क्रियताका समस्यालाई समाधान गर्दै स्वस्थ बानीको विकास गराउन यो पहल सुरु गरिएको अभियानकर्ता कार्कीले जानकारी दिनुभयो ।
अभियानमा युवा, महिला तथा ज्येष्ठ नागरिकहरूलगायत समाजका सबै वर्गको उत्साहजनक सहभागिता रहेको छ । नियमित अभ्यासका कारण शरीरमा ऊर्जा थपिएको र मानसिक शान्ति प्राप्त भएको सहभागीहरूको भनाइ छ । ओमसतिया गाउँपालिका–४ की ज्योति जिसीका अनुसार नियमित योग अभ्यासले उनको सुगर र थाइराइडसम्बन्धी औषधिको मात्रामा समेत कमी आएको छ ।
विपश्यना गुरु गङ्गाप्रसाद कोइरालाका अनुसार योग र विपश्यनाले मानिसमा आत्मअनुशासन, धैर्य र सकारात्मक दृष्टिकोण अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यस्तै, भैरहवास्थित नथुमल गिनिया देवी ट्रस्टको भवनमा पनि निःशुल्क विपश्यना साधना सञ्चालन भइरहेको स्थानीय सन्तोष रायमाझीले बताउनुभयो । सामूहिक रूपमा सञ्चालित यस्ता कार्यक्रमले व्यक्तिगत स्वास्थ्य सुधार्नुका साथै सामाजिक सद्भाव र एकता प्रवर्धनमा समेत सहयोग पुर्याएका छन् ।

