काठमाडौँ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज प्रतिनिधिसभामातहतका चार मुख्य संसदीय समितिहरूको बैठक आह्वान गरिएको छ । विचाराधीन विभिन्न विधेयकहरूमाथि दफावार तथा सैद्धान्तिक छलफल अघि बढाउन ती समितिहरू बस्न लागेका हुन् ।
सबैभन्दा पहिले बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक सुरु हुनेछ । उक्त बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूको सहभागितामा दफावार छलफल गर्ने कार्यसूची तय भएको छ ।
यसैगरी, बिहान ११ बजे एकैसाथ अन्य तीनवटा समितिका बैठक बस्नेछन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि छलफल हुनेछ । यस छलफलका लागि सूचना तथा सञ्चारमन्त्री, सञ्चार तथा कानुन मन्त्रालयका सचिवहरू र चलचित्र विकास बोर्डका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।
त्यस्तै, ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा उक्त विधेयकमा संशोधन हाल्ने सांसदहरूसँग समेत परामर्श गरिने जनाइएको छ ।
उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे नै बस्ने तय भएको छ । बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ का विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, मन्त्रालयका सचिव र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल गरिनेछ ।
संसद् सचिवालयका अनुसार चारवटै समितिका बैठकहरू सिंहदरबारस्थित आ–आफ्नै कार्यकक्षमा सञ्चालन हुनेछन् ।

