दाङ । स्थानीय व्यापारीको तुलनामा प्रतिक्विन्टल सात सय रुपैयाँभन्दा बढी मूल्य पाउने भएपछि दाङका किसानहरू सरकारी खरिद केन्द्रमा धान बेच्न आकर्षित भएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले गाउँमै उपकेन्द्र स्थापना गरी न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु गरेपछि किसानलाई बजार मूल्यको उतारचढावबाट राहत मिलेको हो ।
सरकारले यस वर्ष धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ सय ६० रुपैयाँ तोकेको छ । स्थानीय व्यापारीले प्रतिक्विन्टल दुई हजार नौ सय रुपैयाँमा मात्र खरिद गरिरहेका बेला सरकारी दरभाउले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । गढवा गाउँपालिका–४ हटैयाका किसान शोभाराम यादवसहितका स्थानीयले गाउँमै बनेको खरिद केन्द्रले बिक्री प्रक्रिया सहज बनाएको बताएका छन् । गढवा गाउँपालिकाले कम्पनीसँगको समन्वयमा गोदामघरबाटै धान संकलन गर्ने व्यवस्था मिलाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका कार्यालय प्रमुख शक्तिराम डाँगीका अनुसार यस वर्ष पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । जसअन्तर्गत गढवा गाउँपालिकाबाट तीन हजार क्विन्टल खरिद गरिनेछ भने बाँकी कोटाअनुसार राप्ती गाउँपालिका र लमही नगरपालिकाका किसानबाट धान संकलन गर्ने योजना छ ।
सरकारी खरिद प्रक्रिया सुरु भएपछि उत्साहित बनेका किसानले उत्पादनको अनुपातमा खरिद कोटा निकै कम भएको गुनासो गरेका छन् । सीमित कोटाका कारण सबै किसानले सरकारी मूल्यमा धान बेच्न नपाउने अवस्था रहेकाले खरिद परिमाण बढाएर प्रणालीलाई थप विस्तार गर्नुपर्ने उनीहरूको माग छ ।

