काठमाडौँ । मुस्लिम समुदायको दोस्रो ठूलो उत्सव बकर ईद (इदुल जोहा) आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ ।
ईदुल फित्र अर्थात् रमजान सकिएको ७० औँ दिनमा यो पर्व मनाउने परम्परा रहेको छ । आजको दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी नजिकैको मस्जिद वा इदगाहमा भेला भएर सामूहिक रूपमा नमाज पढ्ने गर्छन् । नमाज सकिएपछि उनीहरू एकआपसमा अङ्कमाल गर्दै शुभकामना साटासाट गर्छन् ।
यस विशेष दिनमा काठमाडौँको दरबारमार्गस्थित जामे मस्जिद, काश्मीरी मस्जिदलगायत मुलुकभरका विभिन्न प्रार्थनास्थलहरूमा बिहानैदेखि भक्तजनहरूको ठूलो उपस्थिति देखिन्छ । मुस्लिम मान्यताअनुसार हिजरी संवत् सुरु हुनुभन्दा १४३९ वर्षपहिले अल्लाहको आदेश मान्दै इब्राहिमले आफ्ना प्रीय छोरा इस्माएल अलेह सलामलाई बलिदान दिन तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । पछि सन् ५७१ मा मक्कामा जन्मिएका मोहम्मद सलल्लाले यस ऐतिहासिक परम्परालाई निरन्तरता दिएका थिए ।
बकर ईदको मुख्य उद्देश्य हज यात्रासँग जोडिएको हुनाले यस अवसरमा साउदी अरबको मक्का मदिना जानुलाई निकै उत्तम मानिन्छ । मक्का मदिना जाने हजयात्रीहरूका लागि नेपाल सरकारको गृह मन्त्रालयले हवाइ टिकट र आउने-जाने व्यवस्था मिलाउने गरेको छ । विभिन्न कारणवश हज यात्रामा जान नपाएकाहरूले घरमै बसेर यो पर्व मनाउने गर्छन् । यस दिन अल्लाहलाई प्रसन्न तुल्याउनका लागि मुस्लिम धर्मशास्त्रले अनुमति दिएका जनावरहरूको कुर्बानी (बलि) दिने विशेष नियम छ ।
धार्मिक विश्वासअनुसार ९0 वर्षको उमेरमा सन्तान सुख पाएका इब्राहिमलाई अल्लाहले सपनामा आफ्नो सबैभन्दा प्यारो चीज बलिदान गर्न आदेश दिएका थिए । अल्लाहको परीक्षा उत्तिर्ण गर्न उनले आफ्ना छोरा इस्माईललाई नै कुर्बानी गर्न लाग्दा अल्लाह उनीसँग खुसी भएका थिए । फलस्वरूप, छोराको ठाउँमा स्वर्ग (जन्नत) बाट पठाइएको दुम्बा (एक प्रकारको भेडा) को कुर्बानी भएको थियो । सोही घटनाको सम्झनास्वरूप आजसम्म यो बलिदानको प्रथा चलिआएको हो ।
यसरी दिइने कुर्बानीको मासुलाई अनिवार्य रूपमा तीन बराबर भागमा लगाउनुपर्ने धार्मिक नियम छ । जसमध्ये एक भाग गरिब तथा असहाय परिवारलाई, अर्को एक भाग आफ्ना आफन्त तथा इष्टमित्रलाई र बाँकी रहेको तेस्रो भाग मात्र आफ्नो परिवारका लागि राखिन्छ । बकर ईदको पावन अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

