कञ्चनपुर । महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरिएको ठूलो परिमाणको खरबुजाको बीउ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलाईन क्षेत्रबाट सशस्त्र प्रहरीको संयुक्त टोलीले ३४ लाख ३ हजार ४ सय रुपैयाँ मूल्य बराबरको बीउ र त्यसलाई ओसारपसार गर्न प्रयोग गरिएको ना ८ ख १९९४ नम्बरको ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकलाई रोकेर खानतलास गरेको थियो । जाँच गर्ने क्रममा ट्रकमा बिना भन्सार लैजाँदै गरेको २ हजार २० केजी खरबुजाको बीउ फेला परेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
सशस्त्र प्रहरीले बरामद गरेको उक्त बीउ र ट्रकलाई आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । भन्सार कार्यालयले नियन्त्रणमा लिइएको ट्रकको मूल्य ३० लाख रुपैयाँ कायम गरेको जनाएको छ ।

