रसुवा । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी दुई दिनका लागि पूर्ण रूपमा ठप्प भएको छ ।
सिमानामा रहेको मितेरी पुल (बेलीब्रिज) मर्मत सम्भार गर्नुपर्ने भएकाले चिनियाँ पक्षको अनुरोधमा सोमबार र मंगलबारका लागि सो नाका बन्द गरिएको हो ।
वर्षायाम र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै चिनियाँ प्राविधिक टोलीले पुलको गुणस्तर मापन तथा मर्मतको काम सुरु गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुवप्रसाद अधिकारीद्वारा जारी सूचना अनुसार, २०८३ साल असार १५ र १६ गते सो पुलबाट हुने सम्पूर्ण सवारी आवागमन रोकिनेछ ।
यद्यपि, सोही मार्ग भएर कैलाश मानसरोवर यात्रामा निस्किएका तीर्थयात्रीहरूका लागि भने विशेष व्यवस्था गरिएको छ । तीर्थयात्रीहरूलाई असुविधा नहोस् भनी दुवै देशका सुरक्षा निकायको आपसी समन्वयमा १०/१० जनाको समूह बनाएर सीमा पार गराउने कार्य भइरहेको प्रशासनले जानकारी दिएको छ ।

