काठमाडौँ । आम उपभोक्तालाई ठूलो राहत दिँदै नेपाल आयल निगमले इन्धनको बजार मूल्यमा भारी कटौती गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्याँस तथा हवाई इन्धनको मूल्यमा उल्लेख्य गिरावट ल्याएको हो ।
नयाँ तय गरिएको मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ । यसैगरी, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोलिटर २६५ अमेरिकी डलरले कमी गरिएको निगमले जनाएको छ । सर्वसाधारणको भान्सासँग जोडिएको एलपी ग्याँसमा प्रति सिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको छ ।
यो समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ । यसैगरी, उपभोक्ताले अब एलपी ग्याँसको आधा सिलिन्डरका लागि १०३० रुपैयाँ र पूरा सिलिन्डरका लागि २०६० रुपैयाँ तिर्नुपर्ने निगमले जानकारी दिएको छ ।

