काठमाडौँ । निर्वाचन आयोगको नेतृत्व फेरि अर्का आयुक्तको काँधमा आइपुगेको छ ।
उमेर हदका कारण यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बाहिरिएपछि आयुक्त डा जानकीकुमारी तुलाधरले नयाँ कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो । भण्डारी ६५ वर्ष पुगेकाले यही असार २३ गते अवकाश पाउनुभएको थियो । उहाँपछि वरीयताक्रममा अगाडि रहनुभएकी तुलाधरलाई यो जिम्मेवारी सुम्पिएको हो । कुल पाँच सदस्यीय कोटा रहने निर्वाचन आयोग अहिले केवल दुई आयुक्तको भरमा चलिरहेको छ । हाल आयोगमा डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र हुनुहुन्छ ।
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०८२ वैशाख ५ गते र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले २०७९ फागुन ४ गते आफ्नो कार्यकाल पूरा गरेर अवकाश पाउनुभएको थियो ।
यसैबीच, रिक्त पदहरू पूर्तिका लागि संसदीय सुनुवाइ समितिले नयाँ सिफारिस भएका पदाधिकारीहरूमाथि उजुरी आह्वान गर्दै सुनुवाइको प्रक्रिया अगाडि बढाएको छ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तको पदका लागि मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको छ ।

