काठमाडौँ । मुलुकभर यस वर्ष धान रोपाइँको रफ्तार विगतको तुलनामा कमजोर देखिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार असार २६ गतेसम्म देशभर कुल धान खेतीयोग्य जमिनको ४५.८१ प्रतिशत भूभागमा मात्रै रोपाइँ सकिएको छ । गत वर्षको यसै अवधिमा ५९.२८ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको थियो ।
मन्त्रालयका अनुसार नेपालभर रहेको कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य जमीनमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टरमा मात्र रोपाइँ भएको छ । यस वर्ष मनसुन ढिलो गरी सक्रिय हुनु र समयमै रासायनिक मल उपलब्ध हुन नसक्दा रोपाइँको गति सुस्त हुन पुगेको हो ।
प्रादेशिक अवस्थालाई हेर्दा यसपटक गण्डकी प्रदेशमा सबैभन्दा धेरै ६५.९ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ । यस्तै लुम्बिनीमा ५९.६ प्रतिशत, सुदूरपश्चिममा ५७.९ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत र कर्णालीमा ४०.५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । तराईका प्रमुख अन्न भण्डार मानिने मधेश प्रदेशमा ३२.८ प्रतिशत र कोशी प्रदेशमा जम्मा ३१.५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष प्रायः सबै प्रदेशको रोपाइँको तथ्यांक खस्किएको छ । अघिल्लो वर्ष यही अवधिसम्म सुदूरपश्चिममा ९३.१० प्रतिशत, कर्णालीमा ८३.२३ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, गण्डकीमा ७१.०३ प्रतिशत, कोशीमा ४१.३२ प्रतिशत र मधेशमा ३३.७८ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भइसकेको थियो ।

