काठमाडौं । दक्षिण कोरियामा रोजगारीको खोजीमा रहेका नेपाली युवाहरूका लागि ईपीएस प्रणालीअन्तर्गत ७ हजार २ सय नयाँ अवसरसहित भाषा परीक्षाको आवेदन खुला भएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले उक्त कोटाका लागि दरखास्त माग गरेको हो ।
नेपाल र कोरियाबीचको श्रम सम्झौताअनुरूप एचआरडी कोरियाले विभिन्न चार क्षेत्रमा कामदारको माग पठाएको छ । जसअनुसार सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा ५ हजार जनाको कोटा तोकिएको छ भने कृषि तथा पशुपालनमा २ हजार, सेवा क्षेत्रमा १०० र वन क्षेत्रमा १०० जनाको माग रहेको छ । सोही मागको आधारमा नेपालमा भाषा परीक्षा सञ्चालन हुन लागेको हो ।
इच्छुक उम्मेदवारले आउँदो २७ जुलाई २०२६ देखि २ अगष्टसम्म अनलाइन प्रणालीमार्फत फारम भर्न सक्नेछन् । दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ । यसका साथै फौजदारी कसुरमा सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा नबसेको, नेपाल सरकारबाट विदेश जान रोक नलगाइएको र ई–९ वा ई–१० भिसामा कोरियामा पाँच वर्षभन्दा बढी समय नबिताएको हुनुपर्ने सर्त राखिएको छ ।
भाषा परीक्षाको शुल्क २८ अमेरिकी डलर तोकिएको छ । पहिलो चरणको भाषा परीक्षाको नतिजा सार्वजनिक भएपश्चात् अर्को चरणको परीक्षा सञ्चालन गरिनेछ । अन्तिम परीक्षामा उत्तीर्ण हुनेहरूको नतिजा दुई वर्षसम्म मान्य हुनेछ । यद्यपि, परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको शतप्रतिशत सुनिश्चितता भने नहुने शाखाले स्पष्ट पारेको छ ।

