काठमाडौँ । मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भएका व्यवसायीहरूबाट वस्तु वा सेवा खरिद गर्दा सर्वसाधारणलाई सक्कली बिल माग्न प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नयाँ पुरस्कार योजना सुरु गरेको छ ।
‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ भन्ने नाराका साथ बजेटमा समावेश गरिएको यो कार्यक्रमलाई अहिले कार्यान्वयनमा ल्याउन लागिएको हो ।
यस योजना अनुसार अब दैनिक रूपमा एक जना सर्वसाधारणले रु. १ लाख पुरस्कार पाउनेछन् भने हरेक महिना दुई जनाले बम्पर उपहार स्वरूप रु. १०/१० लाख प्राप्त गर्नेछन् । रु. १०० भन्दा बढीको खरिद वा होटल तथा रेस्टुरेन्ट लगायतका स्थानमा गरिएको भुक्तानीको सक्कली बिल नम्बरका आधारमा विजेताको छनोट गरिनेछ ।
सुरुवाती चरणमा प्रत्येक महिनाको १६ गते र मसान्त गरी महिनाको दुई पटक (पाक्षिक रूपमा) पुरस्कार घोषणा गर्ने तयारी छ । यस कार्यक्रमको प्रभावकारी सञ्चालन र पारदर्शी छनोटका लागि सरकारले अलग्गै कार्यविधि पनि स्वीकृत गरिसकेको छ ।

