काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको बक्यौता रकम अविलम्ब उठाउन उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारलाई ताकेता गरेका छन् ।
सरकारले सुशासनलाई प्राथमिकतामा राखेको दाबी गरे पनि ठूला उद्योगीहरूसँग लिनुपर्ने अर्बौँ रुपैयाँ महसुल असुलीमा उदासीनता देखाएको घिसिङको भनाइ छ । विगतमा लोडसेडिङको समयमा विशेष लाइनमार्फत बिजुली चलाएका र पहिलो किस्ता तिरिसकेका उद्योगीहरूबाट समेत बाँकी रकम उठाउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले तदारुकता नदेखाएको उनले दाबी गरे ।
अहिलेको बलियो सरकारलाई कानुन कार्यान्वयन गर्न कुनै राजनीतिक बाधा नरहेको उल्लेख गर्दै घिसिङले पुनः प्रशासनिक पुनरावलोकनका नाममा महसुल असुली प्रक्रिया अलमल्याउन खोजिए त्यो कानुनी शासनको उपहास हुने चेतावनी दिएका छन् ।
अर्कोतर्फ, साधारण घरायसी ग्राहकलाई ५० युनिटभन्दा बढी बिजुली खपत गर्दा थप मूल्य अभिवृद्धि कर (भ्याट) को भार थप्ने तर अर्बौँ बक्यौता भएका उद्योगीलाई छुट दिने नीतिको उनले कडा आलोचना गरे । सानालाई ऐन र ठूलालाई चैन हुने अवस्था अन्त्य गर्दै प्रचलित कानुनअनुसार तुरुन्त बक्यौता असुल गरी राज्यको राजस्व जोगाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

