काठमाडौँ । निर्माण कार्य सुरु भएको सात वर्षपछि काठमाडौँ र धादिङ जोड्ने नागढुंगा-सिस्ने खोला सुरुङ मार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गर्नुभएको यो आयोजना तोकिएको ४२ महिनाको समयसीमाभन्दा ढिला गरी सम्पन्न भएको हो । कोरोना महामारी र जग्गाको मुआब्जा विवादका कारण निर्माण प्रक्रिया केही लम्बिन पुगेको थियो ।
आयोजनाअन्तर्गत २०८० साउन २२ गते २.५५७ किलोमिटर लम्बाइको आपत्कालीन (रेस्क्यु) सुरुङको ब्रेक थ्रु गरिएको थियो । त्यसको करिब १० महिनापछि २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २.६८ किलोमिटर लामो मुख्य सुरुङको ब्रेक थ्रु गर्नुभएको थियो ।
जापानी ठेकेदार कम्पनी हाज्मा आन्दो कर्पोरेसनले निर्माण गरेको यस आयोजनाको प्रारम्भिक लागत साढे २२ अर्ब रुपैयाँ अनुमान गरिए पनि पछि बढेर करिब २९ अर्ब रुपैयाँ पुगेको छ । यसमा जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको लगानी रहेको छ ।
उद्घाटनको पहिलो दिन आपत्कालीन सवारी साधनलाई मात्र प्रवेश अनुमति दिइनेछ भने त्यसपछि चरणबद्ध रूपमा अन्य निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न दिइनेछ । पैदलयात्री, दुईपांग्रे सवारीसाधान र प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङ प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
सुरुङ मार्ग प्रयोग गरेबापत सरकारले निश्चित शुल्क निर्धारण गरेको छ । काठमाडौँ प्रवेश गर्दा कार तथा भ्यानले ६५ रुपैयाँ (बाहिरिँदा ६० रुपैयाँ), मिनीबस र टिपरले ११५ रुपैयाँ (बाहिरिँदा ८० रुपैयाँ), बस तथा ट्रकले २६० रुपैयाँ (बाहिरिँदा २०० रुपैयाँ) र हेभी ट्रकले ६०० रुपैयाँ (बाहिरिँदा २५० रुपैयाँ) दस्तुर बुझाउनुपर्नेछ ।

