काठमाडौँ । उपत्यकामा अत्यधिक उत्पादन भएर बजार नपाएको गोलभेँडालाई सरकारले बाहिरी जिल्ला पठाउन थालेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानहरूले उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, स्थानीय व्यवसायी र किसानका प्रतिनिधिहरूसँग समन्वय गरी यो कदम चालेको हो ।
मन्त्रालयले कालीमाटी मातहतमा रहेका ११ वटा संघीय कृषि बजारहरूसँग सहकार्य गरेर काठमाडौँ बाहिर गोलभेँडा पठाउने प्रक्रिया सुरु गरेको जनाएको छ । यसका साथै बाहिर पठाइएका गोलभेँडाको तथ्याङ्क राख्ने, अनुगमन गर्ने र सहजीकरण गर्ने काम पनि भइरहेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार गत असार ३१ गते कालीमाटी र अन्य कृषि फर्महरूबाट गरी कुल ३६.६५ टन सानो गोलभेँडा उपत्यका बाहिर पठाइएको थियो । यस्तै असार ३२ गते पनि थप १४ टन टनेलमा उत्पादित सानो गोलभेँडा बाहिरी बजारमा निकासी गरिएको छ ।

