सुर्खेत । कर्णाली प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ र यहाँ नेतृत्व फेरबदलको प्रक्रिया अघि बढेको छ ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि प्रदेशसभा सदस्यहरूलाई साउन १२ गते अपराह्न ५ बजेसम्मको समयसीमा दिएर दाबी पेस गर्न आह्वान गरेका छन् । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भएलगत्तै यो आह्वान गरिएको हो । कँडेलले शनिबार नै प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए र त्यसपछि प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका थिए ।
कर्णालीमा नयाँ सरकारको नेतृत्वका लागि विभिन्न दलहरूबीच संवाद र सहमति भइरहेको छ । यसक्रममा नेकपा एमाले र नेकपाबीच भएको सम्भावित समझदारीअनुसार आगामी सरकारको नेतृत्व नेकपाले गर्ने चर्चा छ, जसमा नेकपाका संसदीय दलका नेता मंगल शाही मुख्यमन्त्री बन्ने बलियो सम्भावना रहेको बताइएको छ ।

