काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी र डुबानबाट प्रभावित भएका एक बालकलाई निजी तवरबाट ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
शनिबार बिहान आएको बाढीका कारण उक्त सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवार डुबानमा परेपछि साम्पाङले सामाजिक सञ्जालमार्फत यो घोषणा गरेका हुन् ।
वर्तमान नेतृत्व र सरकारको नीतिका कारण सुकुम्बासीहरू घरबारविहीन हुनुपरेको आरोप लगाउँदै उनले नागरिकलाई सही नेतृत्व पहिचान गर्न आग्रह गरे । सामाजिक सञ्जालमा उनले बालकको पीडाप्रति सहानुभूति प्रकट गर्दै सरकारले पुर्याएको चोटमा आफ्नो सहयोग सानो मलमपट्टी मात्र भएको उल्लेख गरेका छन् ।
बालबालिकाको सुरक्षित भविष्यले नै देशको भविष्य निर्धारण गर्ने भन्दै साम्पाङले सुकुम्बासी समुदायको समस्या र पीडाप्रति संवेदनशील बन्न सबै पक्षसँग अपिल समेत गरे ।

