काठमाडौँ । चीनमा आयोजना हुन लागेको ट्रान्स हिमालय मञ्चको बैठकमा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीको नेतृत्वमा रहेको ५ सदस्यीय टोली बुधबार बिहान चीनतर्फ प्रस्थान गरेको हो ।
उपसभामुख रुवी कुमारी सिचुवान वायुसेवाको उडानमार्फत चीनको निङ्ची सहरका लागि प्रस्थान गरेकी हुन् । उक्त नेपाली प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर कार्यक्रमकर्ता अनिशा ढकाल सहभागी छन् ।
अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौँ चीन-सिजाङ ट्रान्स हिमालय मञ्च आजदेखि साउन १ गते (जुलाई १५ देखि १७) सम्म चल्नेछ । यस मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नेछिन् ।
भ्रमणका क्रममा चीनको स्वायत्त सिजाङ क्षेत्रको लिन्ची सहरमा उपसभामुख रुवी कुमारी र चिनियाँ कम्युनिष्ट पार्टीको सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता हुनेछ ।
यसका साथै अन्य उच्चस्तरीय बैठकहरूमा समेत नेपाली टोली सहभागी हुने कार्यक्रम रहेको छ । भ्रमण पूरा गरी नेपाली प्रतिनिधिमण्डल साउन ४ गते स्वदेश फर्कनेछ ।

