डडेल्धुरा । सुदूरपश्चिमको भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी डडेल्धुरा अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी घाइते भएका दार्चुलाकै मार्मा गाउँपालिका–३ का ५० वर्षीय अम्मर सिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्यालको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
सरस्वतीको टाउको, छाती र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का २० वर्षीय अमृत घरेडी भने सामान्य घाइते छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

