काठमाडौँ । मन्त्रालय र मातहतका सम्पूर्ण निकायमा नतिजामुखी कार्यसंस्कृति बसाल्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कडा निर्देशन दिएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित कर्मचारी बैठकलाई सम्बोधन गर्दै उनले प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट चुस्त रूपमा कार्यान्वयन गर्न ताकेता गरेका हुन् ।
सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउन मन्त्री तिमिल्सिनाले समयसीमासहितको नयाँ व्यवस्था लागू गर्न भनेका छन्। अब मन्त्रालयस्तरबाटै टुङ्गिने फाइल एकै दिनमा र अन्य निकायसँग समन्वय गर्नुपर्ने फाइल बढीमा पाँच दिनभित्र निर्णयमा पुर्याउनुपर्नेछ। राम्रो काम गर्नेलाई प्रोत्साहन र काममा ढिलासुस्ती गर्नेलाई कारबाही गर्ने परिपाटी बसाल्नुपर्नेमा उनले जोड दिए। कार्यसम्पादनलाई प्रभावकारी बनाउन प्रत्येक शाखाले बिहान कार्ययोजना बनाउने र साँझ त्यसको समीक्षा गर्ने परिपाटी सुरु गर्न पनि निर्देशन दिइएको छ ।
बैठकमा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले गत आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको स्वीकार गर्दै यस वर्ष सुरुदेखि नै योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाइन्। चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन, कानुन निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा बैठकमा गहन छलफल भएको थियो ।

