काठमाडौँ । अध्यागमन विभागको नियन्त्रणमा रहेका चिनियाँ नागरिकलाई रिहा गराइदिने आश्वासन दिएर रकम असुल गरेको अभियोगमा हास्य कलाकार नारद खतिवडासहित तीन जनालाई काठमाडौँबाट नियन्त्रणमा लिइएको छ ।
सर्लाही घर भई हाल काठमाडौँ बस्दै आएका ५२ वर्षीय खतिवडासँगै ललितपुरको नख्खीपोटबाट अन्य दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्ने अन्य व्यक्तिहरूमा कटारीका विक्रमबहादुर थापा र नवलपरासीका गोपालकुमार गुरुङ रहेका छन् ।
अध्यागमन विभागले गत असार १२ गते सानेपाबाट नियन्त्रणमा लिएका ९ जना चिनियाँ नागरिक र उनीहरूका १५ वटा राहदानी फिर्ता गराइदिने भन्दै यो समूहले ७२ लाख रुपैयाँ माग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
चिनियाँ नागरिकहरूले माग बमोजिम अग्रिम रूपमा ९ लाख रुपैयाँ बुझाएका थिए । तर, रकम बुझाएपछि पनि काम नभएपछि पीडितहरूले प्रहरीलाई खबर गरेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

