काठमाडौँ । निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा भएको करोडौँको औषधि घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ ।
अस्पतालमा सामान नै नआई नक्कली बिल बनाएको र म्याद सकिएका औषधिको हरहिसाब नराखेर सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले यो कदम चालेको हो । आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा सफ्टवेयरमा गलत विवरण प्रविष्टि गर्ने तथा धरौटी रकमसमेत नियमविपरीत फिर्ता दिएर राज्यलाई ठूलो नोक्सानी पुर्याएको अनुसन्धानले देखाएको छ ।
अख्तियारका अनुसार हरेक आर्थिक वर्षको अन्त्यमा गर्नुपर्ने मौज्दात परीक्षण नगरी फार्मेसीको स्टोरमा म्याद नाघेका औषधि थुपारेर राखिएको थियो । यसरी सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा फार्मेसी इन्चार्ज दिनेश पन्तसहित दीपा ढुङ्गाना, लवेन्द्र कुँवर, दीपक सापकोटा, विनोद पोखरेल, केशवराज न्यौपाने, शर्मिला श्रेष्ठ र सन्दीप तिवारीविरुद्ध २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो दाबी गर्दै बुधबार आरोपपत्र दर्ता गरिएको छ ।

