काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार प्रतिनिधि सभा मातहतका दुईवटा विषयगत समितिका बैठकहरू आयोजना गरिँदैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे सुरु हुने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने महत्त्वपूर्ण विषयहरूका बारेमा छलफल हुनेछ । उक्त बैठकमा नीतिलाई थप प्रभावकारी बनाउनका लागि सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूलाई आमन्त्रण गरी सुझाव लिने कार्यसूची तय गरिएको छ ।
यसैगरी, दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बोलाइएको छ । सो बैठकमा समितिको कार्यविधि एवं आचारसंहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि दफावार छलफल हुने जनाइएको छ । साथै, समितिले हालै विभिन्न क्षेत्रमा गरेको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनबारे पनि बैठकमा समीक्षा गरिने कार्यसूची रहेको छ ।

