काठमाडौँ । उखु कृषकहरूले चिनी मिलबाट पाउनुपर्ने ठुलो हिस्सा रकम भुक्तानी भइसकेको सरकारले दाबी गरेको छ ।
चालु आर्थिक वर्षमा सञ्चालित १३ वटा चिनी उद्योगबाट ६८ हजार किसानले पाउने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको सरकारी विवरणमा उल्लेख छ । वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सार्वजनिक गरिएको उपलब्धि प्रतिवेदनका अनुसार विगतका वर्षहरूमा जस्तो भुक्तानीका लागि किसानले ६ देखि ८ महिनासम्म पर्खनुपर्ने बाध्यता यसपटक हटेको छ । यस वर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने गरी प्रभावकारी व्यवस्था मिलाइएको सरकारले जनाएको छ ।
त्यसै गरी सरकारका तर्फबाट उपलब्ध गराइने प्रतिक्विन्टल ७० रुपैयाँका दरको करिब १ अर्ब ५२ करोड रुपैयाँ अनुदान रकम समेत सम्बन्धित निकायमा निकासा भइसकेको छ । उक्त रकम असार २५ गतेभित्र किसानहरूको खातामा जम्मा हुने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । बैंक खाता र प्यान (PAN) जस्ता प्राविधिक विवरणहरू नमिलेका कारण रोकिएका केही किसानहरूको बाँकी भुक्तानी पनि तत्कालै हुने व्यवस्था मिलाइएको छ ।
कृषि क्षेत्रको सुधारका लागि कृषि बजार सूचना प्रणाली सञ्चालन तथा चिस्यान केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गरिएको सरकारले जनाएको छ । यसका साथै कृषकहरूलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण र माटो परीक्षणको कामलाई अघि बढाइएको छ । कृषि क्षेत्रमा लगानी आकर्षित गर्न ३ करोड रुपैयाँसम्मको कृषि कर्जामा रहेको जोखिम भारलाई ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको विवरणमा उल्लेख छ ।
मुलुकभरका किसानहरूको विवरण सङ्कलन गरी विद्युतीय प्रणालीमा आबद्ध गर्ने कार्य अन्तर्गत कुल २५ लाख ५८ हजार १९८ जनामध्ये हालसम्म ७ लाख ५० हजार किसानको प्रमाणीकरण भइसकेको छ । यता मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावित परिवारलाई राहत वितरण गर्नुका साथै गठन गरिएको समितिले यससम्बन्धी अध्ययनको कामलाई सक्रियताका साथ अघि बढाइएको जनाइएको छ ।

