काठमाडौँ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ ।
यस बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेस गर्ने, नयाँ विधेयकमाथि छलफल गर्ने र अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिलाई अनुमोदन गर्ने मुख्य कार्यसूची तय गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन अन्तर्गतको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ र श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरी अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

