काठमाडौँ । संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभा अन्तर्गतका तीनवटा विषयगत समितिहरूको बैठक आज बस्दैछ । आज छलफल र प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएका समितिहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति रहेका छन् ।
बिहान ८ बजेका लागि बोलाइएको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका विभिन्न अनुसन्धान केन्द्रहरूमा संसदीय टोलीले गरेको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षा गर्ने कार्यसूची छ ।
यस्तै, बिहान साढे ८ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थाबारे तयार पारिएको निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पेस गरिँदैछ । सोही बैठकमा विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण उपसमितिको म्याद थप गर्ने विषयमा पनि छलफल हुनेछ ।
यसैगरी, बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि परिमार्जन तथा सञ्चालनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

