काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले मनसुनी वायुको स्पष्ट प्रभाव देखिएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वी र पश्चिमी क्षेत्रमा सरदर स्थानकै आसपासमा रहेकाले देशभरको मौसममा बदली आएको हो । हाल देशका अधिकांश भू-भागमा बादल लाग्नुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षा भइरहेको छ । अन्य प्रदेशका पनि केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि देशभरको आकाश सामान्यतया बादलले ढाकिने अनुमान छ । पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत जोखिम रहेको छ । लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा आज दिउँसो तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।
आज राति देशभर पूर्ण रूपमा बादल लाग्ने मौसम पूर्वानुमान छ । कोशी, बागमती र गण्डकीका हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ । रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ । विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

