काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज प्रतिनिधि सभा मातहतका तीनवटा विषयगत समितिका बैठकहरू सञ्चालन हुँदैछन् ।
संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
आज बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगसँग मुलुकको वर्तमान मानव अधिकारको अवस्था, विद्यमान समस्या र यसको प्रवर्द्धनमा आयोगले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने कार्यसूची छ । यसका साथै बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पेस गरिने कार्यक्रम समेत तय भएको छ ।
यसैगरी, बिहान ८ बजेदेखि सुरु भएको पूर्वाधार विकास समितिको बैठकमा देशभरको खानेपानी व्यवस्थापन र यसका चुनौतीहरूका सम्बन्धमा विस्तृत छलफल भइरहेको छ ।
अर्कोतर्फ, बिहान साढे ८ बजेदेखि सुरु भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकका साथै विषय विज्ञ डा. गोपाल चौधरीको उपस्थितिमा विशेष छलफल भइरहेको छ ।

