काठमाडौँ । क्यानडाको बिसी प्लेस रंगशालामा भएको रोमाञ्चक खेलमा कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेट र त्यसपछिको थप समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको हो, जसमा स्विट्जरल्यान्ड ४-३ ले विजयी भयो ।
टाइब्रेकरमा स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगोर कोबेलले उत्कृष्ट प्रदर्शन गरे । उनले कोलम्बियाका कुचो हेर्नान्डेजको प्रहारलाई रोक्दै टोलीको जित सुनिश्चित गरे । त्यसअघि कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार पोलमा ठोक्किएको थियो भने स्विट्जरल्यान्डका मानुएल अकान्जीको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । स्विट्जरल्यान्डका लागि ग्रानिट झाका, जेकी आम्दुनी, सेड्रिक इटेन र रुबेन भार्गासले पेनाल्टीलाई गोलमा परिणत गरे ।
खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । कोलम्बियाका जोन लुकुमीको हेडर बारमा लागेर फर्किएको थियो भने जामिन्टन काम्पाजको प्रहारलाई स्विस गोलरक्षक कोबेलले विफल पारिदिए । अतिरिक्त समयको अन्तिमतिर काम्पाजले गोल गर्ने महत्वपूर्ण मौका गुमाउँदा कोलम्बियाले खेल टाइब्रेकरमा सुम्पनु परेको थियो ।
यस जितसँगै स्विट्जरल्यान्ड सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । अब सेमिफाइनल प्रवेशका लागि उसले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ ।

