काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख तीन राजनीतिक दल मिलेर प्रदेशहरूमा संयुक्त सरकार गठन नगर्ने अडान राखेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर प्रदेश सरकार बनाउनुपर्ने सुझावहरू आइरहेका बेला उनले यस्तो सम्भावनालाई अस्वीकार गरेका हुन् ।
आइतबार ललितपुरको बाडेगाउँमा आयोजित कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति थापाले प्रमुख तीन दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्षविहीन हुने तर्क गरे । विगतमा एउटा दलसँग चुनावी तालमेल गरेर अर्कैसँग मिलेर सत्ता सञ्चालन गर्दा कांग्रेसले ठूलो राजनीतिक मूल्य चुकाउनुपरेको भन्दै उनले अब त्यस्तो गल्ती नदोहोर्याउने स्पष्ट पारे । चुनावी परिणाम जे जस्तो आए पनि प्रदेश सरकार गठनका मामिलामा पार्टीले कुनै पनि प्रकारको सम्झौता नगर्ने उनको भनाइ छ ।
सभापति थापाले कांग्रेस नेतृत्वले अब आफ्नो सोच र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए । संकटका बेला बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जसरी दृढतापूर्वक पार्टी हाँकेका थिए, त्यसैगरी अहिलेको नेतृत्वले पनि कांग्रेसलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

