चितवन । आइतबार साँझदेखि परेको लगातारको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो र लेदो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
सडक अवरुद्ध भएपछि बीच बाटोमै रोकिएका यात्रु तथा सवारीसाधनलाई आइतबार रातिसम्म पहिरो पन्छाएर सुरक्षित स्थानतर्फ पठाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । यद्यपि, वर्षा निरन्तर भइरहेकाले यस क्षेत्रमा फेरि पहिरो जान सक्ने ठूलो जोखिम देखिएको छ । यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना नआएसम्मका लागि यस सडकखण्डमा सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाएको छ ।
अहिले जलविरे नजिकै पुनः पहिरो खसेको छ । अन्य ठाउँमा खसेको पहिरो र लेदो हटाउनका लागि आवश्यक उपकरण र मेसिनहरू सम्बन्धित क्षेत्रमा परिचालन गरिसकिएको सडक डिभिजनले उल्लेख गरेको छ । सडक डिभिजन भरतपुरले यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र निस्कन र सुरक्षाकर्मीको निर्देशन पालना गर्दै सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ ।

