काठमाडौँ । मुलुकको बाह्य व्यापारमा आयातको चाप बढ्दै जाँदा व्यापार घाटा झन् फराकिलो बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले मात्र बढेको थियो ।
समीक्षा अवधिमा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा निर्यात ७७.८ प्रतिशतले बढेको थियो । यस वर्ष भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले बढ्दा चीनतर्फको निर्यातमा भने ३५.८ प्रतिशतको गिरावट आएको छ । नेपालबाट विशेषगरी भटमासको तेल, पाम तेल, अलैंची र चाउचाउको निर्यात बढेको छ भने जिंक सिट, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीको निर्यात घटेको छ ।
अर्कातर्फ, समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । भारतबाट ११.८ प्रतिशत, चीनबाट २१.५ प्रतिशत र अन्य देशबाट १८.९ प्रतिशतले आयात वृद्धि भएको हो । नेपालमा पेट्रोलियम पदार्थ, चाँदी, सवारी साधन तथा तिनका पार्टपुर्जा र रासायनिक मलको आयात बढेको देखिन्छ । तर, खाने तेल, एमएस बिलेट र लसुनजस्ता वस्तुको आयात भने घटेको छ ।
आयात तीव्र रूपमा बढ्दा निर्यात-आयात अनुपात अघिल्लो वर्षको १५.१ प्रतिशतबाट घटेर यस वर्ष १४.७ प्रतिशतमा खुम्चिएको छ । ११ महिनाको अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी (परिवर्त्य विदेशी मुद्रा) गरी १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । यसैगरी, जेठ महिनामा नेपालको व्यापारको सर्त (टर्म्स अफ ट्रेड) १३.९ प्रतिशतले खस्किएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

