काठमाडौँ । साताको दुई दिन बिदा दिन थालेपछि सरकारले वर्षभरि दिइने अन्य सार्वजनिक बिदाहरूको कटौती वा संशोधनका लागि गृहकार्य थालेको छ ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले पूर्ववत् रूपमा दिँदै आएका सार्वजनिक बिदाहरू पुनरावलोकन गर्ने निर्णय गरेको हो । बिदाको अध्ययन गरी प्रतिवेदन तयार पार्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदलसमेत गठन गरिएको छ ।
उक्त टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयका प्रतिनिधिहरू रहेका छन् । कार्यदललाई आगामी १५ दिनभित्र गृह मन्त्रालयसमक्ष आफ्नो प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

