काठमाडौँ । सरकारी स्तरबाट सञ्चालित आयुर्वेद संस्थाको क्षमता अभिवृद्धि गर्दै स्वदेशी जडीबुटीको अधिकतम उपयोगमा जोड दिइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नरदेवी आयुर्वेद अस्पताल र त्यसअन्तर्गतको वैद्यखानाको स्थलगत अनुगमन गर्दै यस्तो बताएकी हुन् । निरीक्षणका क्रममा उनले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक प्रशोधन गरी आयुर्वेदिक औषधिको उत्पादन बढाउन र विदेशी आयातमाथिको निर्भरता कम गर्न निर्देशन दिइन् ।
मन्त्री मेहताले अस्पतालले प्रवाह गरिरहेको आयुर्वेद उपचार, योग, प्राकृतिक चिकित्सा, औषधि उत्पादन तथा भण्डारणको अवस्थाबारे विस्तृत जानकारी लिएकी थिइन् । सर्वसाधारणले झन्झटरहित, गुणस्तरीय र भरपर्दो आयुर्वेदिक सेवा पाउने वातावरण निर्माण गर्न उनले सम्बन्धित कर्मचारीहरूलाई आग्रह गरिन् ।
नेपाली जडीबुटीको प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक नीतिगत र संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकारी स्वास्थ्य संस्थाहरूमा औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न उत्पादन क्षमता बढाउनुपर्नेमा जोड दिइन् ।

