काठमाडौँ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान सरकारी गाडी र एम्बुलेन्स एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।
दुर्घटनामा धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्या भुजेलसहित दुवै सवारीमा सवार व्यक्तिहरू घाइते भएका हुन् । ढल्केवरबाट बर्दिबासतर्फ गइरहेको उपप्रमुख भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको स्करपियो र बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स एकापसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा सरकारी गाडीका चालक बद्री भुजेल, उपप्रमुख विद्या भुजेल र भीमराज भुजेल घाइते भएका छन् । यस्तै, एम्बुलेन्स चालक दीपेन्द्रकुमार महतो, वसन्तकुमार सिंह, रेणुकुमारी महतो, राजुदेवी र लक्ष्मी महतो घाइते भएका छन् । एम्बुलेन्समा सवार राजुदेवी पहिलेदेखि नै पक्षघात (प्यारालाइसिस) को उपचार गराइरहेकी बिरामी भएको खुलेको छ ।
घाइतेमध्ये रेणुकुमारी महतोको अवस्था मध्यम छ भने अन्य सबैको अवस्था सामान्य रहेको छ । घाइते सबैलाई उपचारका लागि रमदैयास्थित जानकी मेडिकल कलेजमा भर्ना गरिएको छ । दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

