काठमाडौँ । आगामी साउन पहिलो सातादेखि काठमाडौँ उपत्यकाका सडकमा महिला यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै विशेष ‘ब्लु बस’ गुड्ने भएका छन् ।
सरकारको सय दिने शासकीय सुधार कार्यसूची अन्तर्गत महिलाहरूको सार्वजनिक यातायात यात्रालाई मर्यादित र भरपर्दो बनाउने उद्देश्यले यो नयाँ सेवा सुरु गर्न लागिएको हो ।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सुरुवाती सय दिनभित्र उपत्यकामा जम्मा २५ वटा यस्ता बस चलाउने सरकारको योजना छ । सोही योजना अनुरूप पहिलो चरणमा साउन १ गतेदेखि नै आठवटा बस सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ ।
यो विशेष यातायात सेवाको व्यवस्थापन गर्ने जिम्मेवारी साझा यातायातले पाएको छ । साझा यातायातले आवश्यक कानुनी र आर्थिक प्रक्रियाका लागि अर्थ मन्त्रालयसँग सहमति माग गर्दै पत्र पठाइसकेको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयबाट वित्तीय तथा प्राविधिक स्वीकृति मिल्नासाथ साउनको १ गतेदेखि नै सेवा सुरु हुनेछ ।
यात्रुहरूको धेरै भीडभाड हुने र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका तीनवटा मुख्य रुटमा पहिलो चरणका आठ बस चल्नेछन् । जसअन्तर्गत लगनखेल–बुढानीलकण्ठ रुटमा २ वटा, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा २ वटा र चक्रपथ (रिङरोड) क्षेत्रमा ४ वटा बस परिचालन गरिनेछ ।
चक्रपथमा गुड्ने चार बसमध्ये दुईवटा सुल्टाे दिशा (क्लकवाइज) र दुईवटा उल्टो दिशा (एन्टिक्लकवाइज) भएर घुम्नेछन् । सार्वजनिक सवारी साधनमा महिलामाथि हुने दुर्व्यवहार रोक्न र उनीहरूको सुरक्षित यात्राको अधिकार सुनिश्चित गर्न यो कदम सहयोगी हुने अपेक्षा गरिएको छ ।

