पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा अवस्थित घारखोला जलविद्युत् आयोजनामा भीषण पहिरो खस्दा एक जना सुरक्षा गार्ड बेपत्ता भएका छन् ।
गए राति ३ बजेतिर विद्युत् गृहको माथिपट्टि रहेको भीरबाट खसेको ठूला चट्टानसहितको पहिरोले विद्युत् गृह र गार्ड रुममा ठूलो क्षति पुर्याएको हो । पहिरोमा परी आयोजनामा कार्यरत सुरक्षा गार्ड खिमबहादुर बरुवाल बेपत्ता भएका हुन् ।
घटनालगत्तै स्थानीय र प्रहरीको टोलीले बेपत्ता बरुवालको खोजी कार्य निरन्तर जारी राखेका छन् ।
१४ मेगावाट उत्पादन क्षमता रहेको सो जलविद्युत् गृहको अन्य भौतिक क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ । यो आयोजना विसं २०८० असारदेखि नियमित सञ्चालनमा आएको थियो ।

