हेटौँडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका नेता किरण थापामगरले ६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित आफ्नो दाबी पेस गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाएर थापामगरले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् । १०४ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक पर्नेमा उनलाई एमालेका २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ गरी कुल ६३ सांसदको समर्थन प्राप्त भएको छ ।
दाबी पत्रमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल र राप्रपा संसदीय दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बिहीबार अपराह्न ४ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्ने समय सीमा निर्धारण गरेका थिए ।

