पाल्पा । अविरल खसिरहेको पहिरोका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा गाडी चल्न नसक्ने गरी सडक बन्द भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको निर्माणाधीन सुरुङमार्गको उत्तरी प्रवेशद्वार नजिकै माथिबाट ठूला ढुङ्गा र माटो खसिरहेकाले यातायात सेवा ठप्प बनेको हो ।
अहिले पनि पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा थुप्रिएको पहिरो हटाउनका लागि दोभान प्रहरी चौकीबाट ट्राफिक प्रहरीसहितको टोली खटिसकेको छ । पहिरो खस्न रोकिएलगत्तै बाटो पन्छाउनका लागि जेसिबी डोजरलाई तयारी अवस्थामा राखिएको छ ।
जोखिमपूर्ण अवस्था रहेकाले यात्रामा रहेका सर्वसाधारण तथा सवारीचालकहरूलाई हतार गरेर अगाडि नबढ्न र सुरक्षित स्थानमै रोकिन प्रहरीले अनुरोध गरेको छ ।

