काठमाडौँ । हरेक वर्ष अगस्ट १२ का दिन संसारभर मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ आयोजना गरिँदै छ । यस वर्ष ‘फरक परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
विशेष गरी समुदाय स्तरमा युवाहरूले गर्ने नेतृत्वदायी पहलहरूलाई यस दिवसले उजागर गर्दछ । यस्ता प्रयासहरूले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यहरू हासिल गर्न ठूलो मद्दत पुर्याउँछन् । गुणस्तरीय शिक्षा, जलवायु परिवर्तन सम्बन्धी कार्य, लैङ्गिक समानता र मर्यादित रोजगारजस्ता महत्त्वपूर्ण विषयमा युवाहरूले स्थानीय तथा विश्वव्यापी चुनौतीहरू सम्बोधन गर्दै आएका छन् ।
युवाका मुद्दा र सवालहरूलाई प्राथमिकता दिन संयुक्त राष्ट्रसङ्घले सन् १९९९ मा निर्णय गरी सन् २००० देखि अगस्ट १२ लाई दिवसका रूपमा मनाउन सुरु गरेको हो ।
नेपालमा भने सन् २००४ देखि विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा यो दिवस मनाउन थालिएको थियो । पछि सरकारले राष्ट्रिय युवा परिषद् गठन गरेपछि विसं २०७३ देखि सरकारी स्तरमै औपचारिक रूपमा दिवस मनाउने परम्परा सुरु भएको हो ।

