काठमाडौँ । सत्ता समीकरणमा आएको परिवर्तनसँगै कोशी प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।
काँग्रेसबाट मन्त्रिपरिषदमा रहेका चार जना पूर्ण मन्त्री र एक जना राज्यमन्त्रीले आज संयुक्त रूपमा पदबाट राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् । उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष आफ्नो राजीनामा पेस गरेका हुन् ।
केन्द्रीय स्तरमा नेकपा एमाले र नेकपाबीच भएको नयाँ सहमति अनुसार कोशी प्रदेशको नेतृत्व एमालेले नै गर्ने र मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउने निश्चित भएपछि काँग्रेस सरकारबाट पछि हटेको हो । काँग्रेसको बहिर्गमनसँगै अब कोशी प्रदेशमा नेकपासहितको नयाँ सत्ता गठबन्धनको सरकार गठन हुने मार्ग प्रशस्त भएको छ ।

