काठमाडौँ । प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूपछि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आफू एक्लै लडिरहेको सङ्केत गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले त्यसको जवाफ दिएका छन् ।
परिवर्तनका लागि स्पष्ट जनादेश पाएको यो सरकारमा कोही पनि एक्लो नरहेको भन्दै उनले सरकारलाई आफ्नो पूर्ण साथ रहेको स्पष्ट पारेका हुन् ।
झाले सरकारको नियत र उद्देश्यमाथि कुनै शङ्का नरहेको उल्लेख गर्दै कामकारबाहीका क्रममा देखिएका केही कमजोरीहरू सुधार्नुपर्ने आवश्यकता औँल्याए । संसद्मा सांसदहरूले उठाएका विषयहरू सरकारलाई सचेत गराउने र प्राप्त ऐतिहासिक अवसर खेर जान नदिने प्रयास भएको उनको भनाइ छ ।
जननिर्वाचित सरकार सधैँ जनताको साथमा रहनुपर्ने र आफूहरू सरकारको पक्षमा उभिएको उनले बताएका छन् । यसअघि शुक्रबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने परिस्थिति आउने भन्दै स्टाटस पोस्ट गरेका थिए । उक्त अभिव्यक्तिपछि रास्वपा नेता झाको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।

